About

तौथलीको प्राकृतिक सुन्दरता र पर्यटकिय महत्त्व

तौथली सिन्धुपाल्चोक जिल्लाको दोल्खासँग सिमाना जोडीएको पूर्वावस्थित गा.वि.स. हो । तौथली बिभिन्न एतिहासिक धरोहर र संस्कृतिले भरिपूर्ण गा.वि.स. मात्रनभएर प्राकृतिक सुन्दरताले भरिपूर्ण गा.वि.स. हो । यो गा.वि.स. पर्यटन ब्यवसायको लागि महत्वपुर्ण मानिए पनि यहाँ पर्यटन व्यवसायको राम्रो प्रवर्धन भएको पाईदैन । नेवार समुदायहरुले आफ्नो परम्परा र साँस्कृतिक रितिरिवाज अनुसार यहाँ बिभिन्न चार्डपर्व र जात्रा मनायता पनि अन्य जिल्ला तथा नेवार समुदायको भन्दा छुट्टै रितिरिवाज, सँस्कृतिक परम्परा अनि भाषा हुनुलाई यस ठाउँको महत्वपूर्ण बिशेषता मान्न सकिन्छ ।

सिन्धुपाल्चोक जिल्लाको ७९ गा.वि.स. मध्य एतिहासिक, सांस्कृतिक कला तथा भाषिक हिसाबले तौथली गा.वि.स. महत्वपूर्ण मानिन्छ तर यसको प्रमुख बिशेषता प्राकृतिक सौदर्यतालाई मन्न सकिन्छ । यस गाउँलाई साँस्कृतिक सम्पदा, धर्मिक सम्पदा, भाषा र प्राकृतिक सौन्दर्यताका कारणले पनि यस जिल्ला तथा बाहिरी जिल्लाका प्राय मानिसले चिन्ने गर्दछन् । तौथली सिन्धुपाल्चोक जिल्लाको ७९ गा.वि.स. मध्यमा एउटा छुट्टै बिशेषता बोकेको गाउँ हो । समुन्द्र सतहबाट करीब ७००० फिटको उचाईमा अवस्थित यो गाउँ प्राकृतिक हिसाबले धनी मानिन्छ । काठमाडौंबाट कोदारी राजमार्ग हुँदै दोल्खा जाने अरनिको यातायातको रुट अन्तर्गत पर्ने बसमा करीब ४-५ घण्टाको यात्रा पश्चात खरिढुङ्गा पुगिन्छ । जब खरिढुङ्गा पुगिन्छ, त्यहाँबाट म्याग्नेसाइटको स्टेसन (बंकर) हुँदै करीब डेढ घण्टाको यात्रा तय गरेर सुन्दर शहर तौथली पुगिन्छ । यात्राको समयमा घना जंगलबाट तल ओर्लिनुपर्छ, जुन जंगलमा बिभिन्न जडिबुटी, वनस्पति र बिभिन्न चरा-चुरुङ्गी तथा बन्यजन्तु देख्न सकिन्छ । यो लामो यात्रा गरिने जंगललाई नार्गा भनेर चिनिन्छ । करीब एक घण्टाको यात्रा पछि हामी एउटा सानो गोठ भएको डाँडामा पुग्छौं जसलाई बुढाबुढी भनिन्छ । त्यहाँबाट तल हेर्दा करीब ५०० घर धुरो भएको एउटा ठुलो गाउँ जहाँ गुजुमुज्झ परेका घरहरु भएको बक्लो बस्ती छ र जसलाई तौथली भनेर चिनिन्छ । हामी बुढाबुढीबाट तल ओर्लेर एउटा ठुलो चउरमा पुग्छौं जुन चउरलाई जप्सिले चउर भनिन्छ । यो चउरमा कामधेनु, जुन एउटा धर्मिक बिशेषता बोकेको ढुङ्गा हो, अवस्थित छ । यस ढुङ्गामा गाईको खुट्टाको छाप स्पष्टसँग देख्न सकिन्छ । यस ठाउँमा आगन्तुक तथा गोठालाका निम्ती भनेर ढुङ्गाबाट निर्मित बिश्रामस्थल बनाइएको छ जसलाई स्थानिय बसिन्दाले “दिला” भन्ने गर्दछन् । यस दिलामा बसी आराम मात्र नभई तौथलीको मनमोहक, प्राकृतिक तथा रमणिय वातावरणको पनि दृश्य अवलोकन गर्न सकिन्छ ।

यस गाउँमा म्याग्नेसाइट स्टेसन पनि रहेको छ । त्यसकारण यस ठाउँलाई औधोगिक क्षेत्रको रुपमा पनि बिस्तार गर्न सकिने देखिन्छ । यो गाउँ एउटा डाँडामा रहेको हुनाले यस गाउँबाट वरपरका रमाईला र मनै लोभ्याउने मनोरम दृश्यहरु देख्न पाइन्छ । यी मध्य यस गाउँको प्रमुख बिशेषता भनेको यहाँबाट जुगल र गणेश जस्ता उच्च हिमशृङ्खला स्पष्ट देखिनु हो जसकारणले गर्दा यस गाउँको आकर्षण झनै बध्दो रहेको छ । यहाँ यस्ता प्राकृतिक सुन्दरता अबलोकन गर्ने ठाउँ धेरै छन् जस मध्य शिखरचुली, टक्सिचा, प्यारछोबा, जप्सिले, खाल्चायपङ र आइ लभ यु डाँडा रहेका छन् ।

यस गाउँमा बिभिन्न घना जंगलहरु रहेका छन्, जस्तै तौथलीको पूर्वपटि शिखरचुली बन, नार्गा, सोले, रुम्थली, जुकौसी, हाकौ बन र उत्तरपटि रुमालोखु, खर्षगल र सिखे रहेका छन् भने पश्चिममा ढोकोमासान रहेको छ । यहाँ बिभिन्न बनस्पति तथा जडिबुटी पाईन्छन् । यी जंगलभित्र परेवा भिर गुफा, त्रिशुल ओडार र तङ्गल ओडार रहेका छन् । यहाँ जङ्गली माहुरिको मह पाईने भिर पनि रहेको छ जुन यहाँको आर्को प्रमुख बिशेषता हो । यो भिर पर्यटकिय हिसाबले अत्यन्त आकर्षक छ । त्यो ठुलो भिर अनि मह त्यसमा पनि अझै १२० फिट लामो झरना यहाँको आकर्षणको केन्द्र पनि हो। दुई वटा नदी – तौथली खोला र पिस्कर खोला बग्ने तौथली प्राकृतिक सौदर्यताले भरिपूर्ण ठाउँ हो ।

अत: यस गा.वि.स.लाई पर्यटकिय क्षेत्रको रुपम बिकास गराउन सकिएमा यस गाउँका बासिन्दाहरुको लागि ठुलो फाईदा पुग्ने कुरामा कुनै दुई मत हुनसक्दैन ।